स्याङ्जा प्रशासनमा सेवा प्रवाह सहज, छिटो र पारदर्शी

पब्लिक आवाज,
स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाप्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी बन्दै गएको छ । नयाँ प्रणाली लागू भएपछि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले छोटो समयमै सेवा पाउन थालेका छन् । लामो लाइन, भनसुन, अनावश्यक झन्झट तथा पटक–पटक कार्यालय धाउनुपर्ने पुरानो समस्या हट्दै गएपछि प्रशासनप्रति नागरिकको भरोसा समेत बढ्न थालेको छ । नयाँ प्रणाली लागू भएसँगै प्रशासन कार्यालय पुग्ने सेवाग्राहीले अब मेसिनबाट टोकन लिएपछि एउटै सेवा कक्षमार्फत आफ्नो काम गर्न पाउने व्यवस्था गरिएको छ । आवश्यक कागजात पूरा भएका सेवाग्राहीले पाँचदेखि १० मिनेटभित्रै नागरिकता प्राप्त गर्न थालेको प्रशासन कार्यालयको दाबी छ ।

सेवा प्रक्रियालाई व्यवस्थित र प्रविधिमैत्री बनाइएपछि कार्यालय परिसरमा हुने अनावश्यक भीडभाडसमेत घटेको छ । यसअघि नागरिकता बनाउन वा प्रतिलिपि लिन प्रशासन कार्यालय पुग्ने सेवाग्राहीले दिनभर लाइनमा बस्नुपर्ने, कागजात नमिल्दा पुनः फर्किनुपर्ने र कतिपय अवस्थामा होटलमै बस्नुपर्ने बाध्यता थियो । विशेषगरी दुर्गम गाउँबाट सदरमुकाम आउने नागरिकका लागि प्रशासनको सेवा झन्झटपूर्ण अनुभव हुने गरेको थियो । अहिले भने टोकन प्रणाली लागू भएपछि सेवा छिटो, व्यवस्थित र सहज बन्दै गएको सेवाग्राहीहरु बताउँछन् ।
प्रजिअ ईश्वरीप्रसाद अर्यालले सेवाग्राहीलाई झन्झटरहित, पारदर्शी र समान पहुँचसहितको सेवा दिन एकद्वार प्रणाली लागू गरिएको बताए । उनका अनुसार टोकन प्रणाली सुरु भएपछि अनावश्यक भीड र लामो लाइन हटेको छ भने सेवामा बिचौलियाको प्रभावसमेत कम भएको छ । “पहिले झ्यालबाट फाइल दिने क्रममा पालो हेरफेर हुने, भनसुन चल्ने र सेवाग्राही अन्योलमा पर्ने समस्या थियो,” प्रजिअ अर्यालले भने, “अहिले एकै ठाउँबाट प्रक्रिया अघि बढ्ने भएकाले सेवामा सहजता आएको छ ।” उनले सेवा सुधारलाई प्रशासनको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सीमित स्रोत र जनशक्तिकै बीचमा नागरिकमैत्री सेवा प्रवाहको अभ्यास सफल भइरहेको बताए ।

प्रशासनले नागरिकता शाखामा रहेका छुट्टाछुट्टै कक्षलाई पुनःसंरचना गरेर एउटै सेवा कक्ष बनाएको छ । सेवाग्राहीलाई लाइनमा उभ्याउनुको सट्टा कुर्चीमा बसेर पालो कुर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा पनि यही प्रणाली लागू गरिएको छ । यसले सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयको कार्यप्रवाह पनि व्यवस्थित बनेको कर्मचारीहरु बताउँछन् । राजेन्द्रप्रसाद चापागाईंले कागजात पूरा भएका सेवाग्राहीलाई १० मिनेटमै सेवा दिन सकिने अवस्था बनेको बताए । उनका अनुसार सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउन प्रक्रिया पुनःसंरचना गरिएको हो । उनले भने, “सुरुदेखि अन्त्यसम्म एउटै प्रणालीबाट काम हुँदा सेवाग्राही अन्योलमा पर्दैनन् ।”
दुई वर्षअघि लागू भएको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीले पनि सेवा प्रवाहलाई थप सहज बनाएको प्रशासनको भनाइ छ । रामप्रसाद पौडेलका अनुसार वडाबाट अनलाइनमार्फत पठाइएका विवरण प्रमाणीकरण भएपछि नागरिकता वितरण प्रक्रिया छिटो र व्यवस्थित बनेको छ । उनले भने, “पहिले कागजात मिलाउन धेरै समय लाग्थ्यो, अहिले अनलाइन प्रणालीका कारण विवरण प्रमाणीकरण सहज भएको छ ।” सेवा लिन पुगेका सेवाग्राहीहरुले पनि नयाँ प्रणालीबाट ठूलो राहत मिलेको बताएका छन् । शंकर ताम्राकारले पहिले प्रशासन जानु भनेको पूरा दिन छुट्याउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले केही मिनेटमै काम सकिने वातावरण बनेको बताए । उनले भने, “पहिला लाइनमा बस्दा दिन नै बित्थ्यो, अहिले टोकन लिएपछि पालो आउँछ र काम छिट्टै हुन्छ ।”

त्यस्तै संगिता ढकालले आफूले पहिले लामो समय लाइन बसेर नागरिकता लिएको अनुभव सुनाउँदै अहिले छोराको नागरिकता भने कागजात पेश गरेलगत्तै प्राप्त गरेको बताइन् । उनका अनुसार अहिले प्रशासन कार्यालयमा सेवाग्राहीलाई सम्मानजनक व्यवहार र व्यवस्थित सेवा दिन थालिएको छ । अर्पिता चापागाईंले आवश्यक कागजात मिलाएपछि छोटो समयमै नागरिकता पाएको अनुभव सुनाइन् । उनले पहिले प्रशासन कार्यालयको काम निकै झन्झटिलो लाग्ने गरे पनि अहिले प्रक्रिया बुझ्न र सेवा लिन सहज भएको बताइन् ।
यसैगरी हबिव खानका अनुसार अहिले प्रशासनमा कसैलाई भनसुन गर्नुपर्ने अवस्था हट्दै गएको छ । उनले भने, “आफ्नो पालो आउँछ र काम हुन्छ, यही नै सबैभन्दा ठूलो परिवर्तन हो ।” उनका अनुसार समान व्यवहार र पारदर्शी प्रक्रिया हुँदा सेवाग्राहीमा प्रशासनप्रतिको विश्वास बढेको छ । भौगोलिक रुपमा विकट बस्तीहरु रहेको स्याङ्जामा गाउँबाट सदरमुकाम पुग्न नागरिकले घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एउटै दिनमा काम सकिने वातावरण बनेपछि टाढाबाट आउने सेवाग्राहीलाई ठूलो राहत पुगेको छ । पहिला काम नसकिएर रात बस्नुपर्ने अवस्था आउने गरे पनि अहिले अधिकांश सेवाग्राही एकै दिनमा सेवा लिएर फर्किन सक्ने भएका छन् ।

प्रशासनले सीमित स्रोत र जनशक्तिकै प्रयोगबाट सेवा सुधारको प्रयास सफल भएको जनाएको छ । मालपोत कार्यालयपछि जिल्लामा एकद्वार प्रणाली लागू गर्ने जिल्ला प्रशासन कार्यालय दोस्रो कार्यालय बनेको बताइएको छ । प्रशासनका अनुसार आगामी दिनमा थप डिजिटल प्रणाली र प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ । लामो समयदेखि सरकारी कार्यालयमा ‘पहुँच’ र ‘चिनजान’ को प्रभाव हुने गुनासो सुनिँदै आएको अवस्थामा स्याङ्जा प्रशासनले सुरु गरेको यो अभ्यासलाई अहिले सेवामैत्री शासनतर्फको महत्वपूर्ण कदमका रुपमा हेरिएको छ । सेवा छिटो, सहज र पारदर्शी बन्दै जाँदा सरकारी निकायप्रतिको नागरिक विश्वास पनि क्रमशः मजबुत बन्न थालेको सरोकारवालाहरु बताउँछन् ।

 

प्रतिक्रिया