भीरकोटमा रास्वपाको नयाँ नेतृत्व चयन
भीरकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम भीरकोट नगर अधिवेशन सम्पन्न भएको छ । भीरकोटस्थित क्षेत्री समाज भवनमा सम्पन्न अधिवेशनले मीन बहादुर केसीको नेतृत्वमा १५ सदस्यीय नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनले पार्टी संगठनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने, जनसहभागिता बढाउने तथा आगामी राजनीतिक रणनीतिलाई थप सशक्त बनाउने लक्ष्यका साथ नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित नगर सभापति मीनबहादुर केसीले अधिवेशनबाट सर्वसम्मत रूपमा नगर समिति चयन गरिएको जानकारी दिए । उनका अनुसार उपसभापतिमा वसन्त अर्याल, सचिवमा गोबिन्द अर्याल तथा सह–सचिवमा सपना एसके रूचाल चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पुष्पा अधिकारी, सुमन सारू, राजेन्द्र अर्याल, सुमित्रा थापा, गंगा हिताङ, तेज बहादुर गोदार, भिम बहादुर बिक, पवित्रा खड्का र शालिकराम केसी चयन भएका हुन् । मनोनीत सदस्यहरूमा चन्द्र बहादुर बिक र बोधराज महत रहेका छन् ।
अधिवेशनमा संघीय सांसद झविलाल डुम्रे र डा. धनञ्जय रेग्मीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाले जनताको भरोसा जित्नुपर्ने आवश्यकता औंल्याएका थिए । संघीय सांसद झविलाल डुम्रेले पार्टीलाई केवल निर्वाचन केन्द्रित नभई जनताको दैनिक समस्या समाधानमा केन्द्रित राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तहमा जनअपेक्षा धेरै रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–टोलसम्म विस्तार गरी नागरिकसँग प्रत्यक्ष संवाद बढाउनुपर्ने बताए।
त्यसैगरी डा. धनञ्जय रेग्मीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता अझै बलियो रूपमा महसुस भइरहेको बताउँदै नयाँ पुस्ताको राजनीतिक सहभागिताले परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे । उनले रास्वपाले वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्दै जनविश्वासलाई कायम राख्नुपर्नेमा जोड दिए । अधिवेशनका क्रममा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति, स्थानीय तहमा जनसहभागिता वृद्धि तथा युवालाई राजनीतिमा आकर्षित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले नगरस्तरमा पार्टीको सक्रियता बढाउने, जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने र स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको आशा र भरोसाको शक्तिका रूपमा स्थापित गर्न नेतृत्वले इमान्दारिता, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । उनीहरूले परम्परागत राजनीतिक शैलीबाट नागरिक निराश बनेको अवस्थामा नयाँ राजनीतिक अभ्यासमार्फत जनविश्वास कायम गर्नुपर्ने धारणा राखेका थिए । नवनिर्वाचित सभापति मीनबहादुर केसीले आफूलाई दिएको जिम्मेवारीलाई संगठन विस्तार र जनसेवामा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भीरकोट नगरभित्र पार्टीलाई बलियो संगठनका रूपमा विकास गर्दै युवावर्ग, महिला तथा सबै समुदायको सहभागिता सुनिश्चित गरिने बताए । उनले भने, “हामी जनताको भरोसा जित्ने गरी काम गर्नेछौं । पार्टीलाई केवल नारामा सीमित नराखी व्यवहारमै परिवर्तन देखाउने प्रयास हुनेछ ।”
अधिवेशनमा नगरका विभिन्न वडाबाट आएका प्रतिनिधि, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले पार्टीको संगठन विस्तारसँगै स्थानीय मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा व्यक्त गरेका थिए । रास्वपाले पछिल्लो समय देशभर संगठन विस्तारलाई तीव्रता दिइरहेको सन्दर्भमा भीरकोट नगर अधिवेशनलाई पनि संगठन निर्माणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । नयाँ नेतृत्व चयनसँगै भीरकोटमा पार्टी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार अधिवेशन सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता र जनमुखी राजनीतिक अभियानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया