स्याङ्जाका स्थानीयतहको आन्तरिक आय घट्दै
स्याङ्जा ।
स्याङ्जा जिल्लाका अधिकांश स्थानीयतहको आन्तरिक आयघट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा उनीहरुको आन्तरिक आयघट्दै गएको हो । पालिका भित्र संचालित आर्थिकजन्य गतिविधिबाट संकलित सेवाशुल्क र विभिन्न शिर्षकका राजस्वलाई स्थानीयतहले आन्तरिक आयको रुपमा गणना गर्दै आएका छन् ।
जिल्लाका ११ स्थानीयतहमध्ये ६ वटाको आम्दानी घटेको छ भने ५ वटाको आय बढेको देखिन्छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को तुलनामा पछिल्लो वर्ष २०८१÷८२ को प्रतिवेदनमा स्थानीयतहको आय घट्दै गएको देखिएको हो । पछिल्लावर्ष आन्तरिक आय घट्नुमा आर्थिक शिथिलता प्रमुख कारक रहेको स्थानीयतहले मानेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा २५ करोड २८ लाख २० हजार आम्दानी गर्न सफल स्थानीयतहले आर्थिक वर्ष २०८१÷८२ मा २४ करोड ३४ लाख १५ हजार मात्रै आम्दानी गरेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । ६ स्थानीयतहको तीन करोड १३ लाख १६ हजार आय घट्दा ५ स्थानीयतहको दुई करोड १९ लाख ११ हजार आय वृद्धिभएको छ । । प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष स्थानीयतहको झण्डै ९४ लाख ५ हजार आय घट्न गएको छ ।
प्रतिवेदन अनुसार आय घट्ने स्थानीयतहतर्फ पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका रहेका छन् । पछिल्लो वर्षमा आय वृद्धिगर्ने मध्ये गल्याङ् नगरपालिका, कालीगण्डकी गाउँपालिका, बिरुवागाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र हरिनास गाउँपालिका रहेका छन् ।
अघिल्लो वर्ष ७ करोड ८ लाख ९९ हजार आय गरेको पुतलीबजारले एक करोड ३३ लाख ५६ हजार घट्न जाँदा पछिल्लो वर्ष ५ लाख ७५ लाख ४३ हजार मात्रै आय गरेको छ । दुई करोड ७ लाख तीन हजार अघिल्लो वर्ष आय गरेको चापाकोटले पछिल्लो वर्ष ५५ लाख ९२ हजार घट्दा एक करोड ५१ लाख ११ हजार संकलन भएको महालेखापरीक्षकको प्रतिवेदनमा जनाइएको छ ।
त्यसैगरी भीरकोटको अघिल्लो वर्ष चार करोड ६० लाख ९८ हजार आयभएकोमा ३२ लाख १२ हजारले घटेर पछिल्लो वर्ष चार करोड २८ लाख ८६ हजार आय भएको प्रतिवेदनमा छ । प्रतिवेदन अनुसार चार करोड ८ लाख ६६ हजार अघिल्लो वर्ष आय गरेको वालिङले पछिल्लो वर्ष तीन करोड ९० लाख ११ हजार आयगर्दा झण्डै १८ लाख ५५ हजार घटेको उल्लेख गरिएको छ ।
अघिल्लो वर्षदुई करोड १७ लाख ५७ हजार आय गरेको आँधीखोलाले पछिल्लो वर्ष एक करोड ६८ लाख १८ हजार आय हुँदा आँधीखोलाको ४९ लाख ३९ हजार आय घटेको छ । अघिल्लो वर्ष एक करोड तीनलाख १७ हजार आम्दानीगर्न सफलभएको फेदीखोलाको २३ लाख ६२ हजार घटेर पछिल्लो वर्ष ७९ लाख ५५ हजार मात्रै आयगर्न सफल भएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।
आय वृद्धिगर्नेमा गल्याङ्ले अघिल्लो वर्ष एक करोड ४१ लाख २४ हजार आय गरेकोमा पछिल्लो वर्ष दुई करोड ३६ लाख ७२ हजार आय गरेको छ । अर्जुनचौपारीले पछिल्लो वर्ष एक करोड ४५ लाख ९ हजार आयगर्न सफल भएकोमा अघिल्लो वर्ष ७७ लाख १५ हजार मात्रै आय गरेको थियो भने हरिनासले अघिल्लो वर्ष २७ लाख ६८ हजार आय गरेकोमा पछ्रिल्लो वर्ष ६२ लाख ६७ हजार आम्दानीगर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो वर्ष एक करोड १४ लाख ५९ हजार आय गरेको कालीगण्डकीले अघिल्लो वर्ष एक करोड १२ लाख ९५ हजार मात्रै आय गरेको थियो भने बिरुवाले अघिल्लो वर्ष ६२ लाख ७८ हजार आय गरेकोमा पछिल्लो वर्ष ८१ लाख ८४ हजार आयगर्न सफल भएको महालेखाले जनाएको छ ।
भुकम्प, कोभिड, युद्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विगत लामो समयदेखि सृजित अन्यौलताले स्थानीयतहको आय घट्न गएको बताइएको छ । घरजग्गा कारोबार आएको मन्दी, बजारमा देखिएको शिथिलताले आयमा नकारात्मक प्रभाव परेको वालिङ नगरपालिकाको लेखा शाखाले जनाएको छ । स्थानीयतहको आयघट्दै जाँदा बर्षेनी प्रश्तावित सयौ योजनाहरु प्रभावित हुँदा नागरिकस्तरमा नैराश्यता बढ्दै गएको स्थानीय जनप्रतिनिधिको अनुभव छ ।


प्रतिक्रिया