स्याङ्जाका स्थानीयतहको बेरुजु १३ करोड
प्रकाश डोटेल,
स्याङ्जा ।
स्याङ्जाका स्थानीयतहको बेरुजु १३ करोड भन्दाबढी देखिएको छ । महालेखापरीक्षकको कार्यालयले गएको १ गते शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ११ स्थानीयतहको बेरुजु झण्डै १३ करोड ८१ लाख १९ हजार रुपैयाँ देखिएको हो ।
प्रतिवेदन अनुसार १७ अर्ब ३३ करोड ५२ लाख ६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.८ प्रतिशत अर्थात १३ करोड ८१ लाख १९ हजार बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को तुलनामा पछिल्लो लेखापरीक्षणमा जिल्लाका स्थानीयतहको बेरुजु घट्दो क्रममा रहेको देखिन्छ । पछिल्लो प्रतिवेदनमा १३ करोड भन्दाबढी बेरुजु देखिएकोमा अघिल्लो वर्षको बेरुजु १६ करोड २० लाख ७ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो प्रतिवेदन अनुसार जिल्लामा सबै भन्दा धेरै बेरुजु हरिनास गाउँपालिकाको ३.२९ प्रतिशत देखिएको छ । हरिनासको तीन करोड ३७ लाख ९९ हजार बेरुजु देखिदा सबै भन्दा कम भीरकोट नगरपालिकाको ८ लाख ७० हजार मात्रै रहेको छ । लेखापरीक्षण भएको रकमका आधारमा सबै भन्दाकम बेरुजु पुतलीबजार नगरपालिकाको ६३ लाख ३२ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामध्ये भीरकोट नगरपालिकाको एक अर्ब ४४ करोड ९४ लाख १४ हजार लेखापरीक्षण गर्दा ८ लाख ७० हजार बेरुजु देखिएको छ । पुतलीबजार नगरपालिकाको तीन अर्ब १० करोड ५८ लाख ५५ हजारको लेखापरीक्षण गर्दा ६३ लाख ३२ हजार बेरुजु देखिन्छ छ भने एक अर्ब ४२ करोड ६४ लाख ४१ हजार लेखापरीक्षण गर्दा चापाकोट नगरपालिकाको एक करोड ४३ लाख १६ हजार बेरुजु रहेको प्रतिवेदनमा देखिन्छ ।
त्यसैगरी दुई अर्ब ४३ करोड चार लाख ६३ हजारको लेखापरीक्षण गर्दा वालिङ नगरपालिकाको झण्डै १.४८ प्रतिशत अर्थात तीन करोड ६० लाख ८१ हजार बेरुजु देखिदा गल्याङ् नगरपालिकाको एक अर्ब ९० करोड ६६ लाख ४१ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९६ लाख ५३ हजार बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
उता गाउँपालिका मध्ये बिरुवा गाउँपालिकाको एक अर्ब १९ करोड ७८ लाख १३ हजार लेखापरीक्षण गर्दा १० लाख ८८ हजार बेरुजु देखिएको छ । एक अर्ब १७ करोड ७३ लाख ५० हजारको लेखापरीक्षण गर्दा आँधीखोला गाउँपालिकाको १५ लाख ८६ हजार बेरुजु देखिएको छ भने अर्जुनचौपारी गाउँपालिकाको एक अर्ब १४ करोड ६४ लाख ६५ हजार लेखापरीक्षण गर्दा १८ लाख ८७ हजार बेरुजु रहेको सार्वजनिक प्रतिवेदनमा समावेश गरिएको छ ।
त्यसैगरी कालीगण्डकी गाउँपालिकाको एक अर्ब ५० करोड ४१ लाख ५४ हजारको लेखापरीक्षण गर्दा ३३ लाख ९६ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार फेदीखोला गाउँपालिकाको ९६ करोड ४५ लाख ४३ हजार लेखापरीक्षण गर्दा ९१ लाख ११ हजार बेरुजु देखिएको छ भने एक अर्ब दुई करोड ६० लाख ९७ हजारको लेखापरीक्षण गर्दा हरिनास गाउँपालिकाको तीन करोड ३७ लाख ९९ हजार देखिएको छ ।
स्थानीयतहले पूर्वतयारी विनाका आयोजनामा बजेट समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कानूनले तोकेको सीमानाघी रकमान्तर गरेको, कार्य योजना तर्जुमा नगरेको, स्थानीय सञ्चित कोष प्रणाली (सुत्र) को प्रयोग व्यवस्थित नभएको, बक्यौता असुली नगरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएको छ ।


प्रतिक्रिया